एमाले अध्यक्ष ओली किन जाँदैछन् इलाम ?

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार इलाम जाने भएका छन्। पार्टीको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलामको सूर्योदय नगरपालिकामा जान लागेका हुन्। जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट झलनाथ खनाल विजयी भएका थिए। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताए। खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको उनको दाबी छ।

‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ,’ बस्नेतले भने, ‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ।’ पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन्। फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा ठूलो संख्यामा पार्टी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्