नेकपा एमालेले गर्‍यो अनिश्चितकालका लागि रौतहट बन्द

UML_Logo
लोकपाटी न्यूज

रौतहट। नेकपा एमालेले रौतहट जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो।

शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षडयन्त्रको छानबिन गरी कारवाही गर्न गृह मन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन्। गाडी दुर्घटनाको विषयमा अनावश्यक रुपमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाका सिडियो र एसपीलगायतका प्रशासनले बद्नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ। गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उनलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटै तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदासमेत कांग्रेस गठबन्धनको इसारामा जिप्रका र जिल्ला प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’,जारी विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनुको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बद्नियतपूर्ण कार्यको घोर भत्र्सना गर्दछौँ।’

केही दिनअगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्