जनताको घरघरसम्म बिजुली पुर्‍याउन एमसीसी स्वीकार गरेका हौं : गृहमन्त्री खाण

Balkrishna_Khand
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन्। रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई काँग्रेसले कायमै राखेर अगाडि बढ्न चाहेको बताएका हुन्।

गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने उनले बताए। ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ। शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ उनले भने।

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान एमसीसी जनताको पक्षमा र जनताको हितमा रहेको बताए। एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्विकारिएको बताए।

मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनले बताए। उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटाउन विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे।

बिजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क थियो। एमसीसीबाट आउने अनुदानले नेपाली जनताको गरिबी हटाउन मद्दत गर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्