शिक्षा मन्त्री पौडेलद्वारा लाइब्रेरी भवनको शिलान्यास

लोकपाटी न्यूज

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ। उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बताए। ‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ। उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुव विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर सेन्टर अफ एक्सिलेन्सीको रुपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ। त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई निकै मेहनत गरेर अगाडि बढ्न आग्रह छ।

विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्राध्यापक तथा विद्यार्थीको जिम्मामा छ। ‘केन्द्रीय पुस्तकालयलगायत विश्वविद्यालयदेखि विद्यालयका भवन निर्माणमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भने, ‘भारत सरकार र एक्जिम बैंकलाई धन्यवाद दिन चाहन्छु।’ विशेष अतिथि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताए।

त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठुलो लगानी हो। भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ।’ पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ईऔबुक, ५० लाखभन्दा बढी ईऔथेसिस डिजर्टे सन तथा जर्नल, म्यागेजिन तथा रिपोर्टहरू रहेको बताए।

पुस्तकालय निर्माण पछि घरमै बसेर २४ औँ घण्टा अध्ययन गर्न सकिने छ। अपाङ्गमैत्री बन्ने छ। केसी हनुमान जेभरले गत पुसबाट निर्माण आरम्भ गरेको छ। कुल ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ निर्माणमा थलिएको पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्