काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गैरकानुनी काम गर्नेहरू विदेशी भूमिमा पनि नजोगिने बताएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा विदेशमा नेपाली ठग्नेलाई कारबाहीको दायरामा ल्याउने बताए।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताए।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे उनले नेपाली समुदायबाट सुझाव लिएका थिए। उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपीलाई पनि सहभागी गराएको उनले बताए। कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको जानकारी गराए। अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली संघ-संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।



लोकपाटी न्यूज

