अन्नपूर्ण केबलकार पाेखरा चैत एक गतेदेखि सञ्चालनमा

लोकपाटी न्यूज

पोखरा। नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत १ गते बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ।

पोखरा महानगरपालिका-१८ कोसेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत १ गते बिहान ५ बजेदेखि साँझ ६बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।

बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

गत फागुन ६ गतेदेखि नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सदीबेगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सदीबेगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौदेखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ। १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सेयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्नसकिने बताइएको छ।

कम्पनीले नेपालीका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर  भाडादर तय गरेको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। यसै गरी, विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

पोखरा र काठमाडौंका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए।

सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड-१९ को सङ्क्रमणकालीन समय र विभिन्न संरचनाहरूले गर्दा लागत बढेको बताइन्छ। कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्