निष्पक्ष चुनाव गर्न सरकार प्रतिबद्ध छ : प्रम देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको विषयलाई लिएर एमाले नेता भीम रावलमाथि खनिएका छन्। सोमबार नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा रावलले दोहोरो चरित्र देखाएको आरोप लगाए। उनले एमसीसी पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको पनि स्मरण गराए।

देउवाले भने, ‘एमसीसीबारे प्रश्न उठेपछि मैले भन्नै पर्ने भयो, एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओलीले संसदमा पेस गर्दा अर्थमन्त्री उहाँकै पार्टीको थियो, भीम रावल रक्षामन्त्री थिए। अहिले खिलाफमा बोल्नुहुन्छ। आफैँ मन्त्रिपरिषद्‌बाट पास गर्ने। त्यसबेला किन राजीनामा गर्नु भएन ? भीम रावलले के हेरेर बसे त्यसबेला ? खिलाफमा हो भने राजीनामा गर्नुपर्छ। आफैँ हुँदा पास गर्नुपर्छ भनेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्दा किन टाउको दुख्ने ? त्यसबेला दिमाग खुस्केको थियो ?’

फरक प्रसंगमा देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ। आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ, यसमा सरोकारवाला सबै प्रतिबद्ध हुनु आवश्यक छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्