काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन्। थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनभएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिनुपर्यो।
देश सुरुङमार्ग, लिफ्टिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै उनले इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे। ‘‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुपर्यो।’
पूर्वाधार निर्माण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए। ‘‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’’ उनले भने, ‘‘यसका लागि दक्ष जनशक्ति चाहिन्छ।’’
विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनको भनाइ छ।
कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नवीनतम नतिजा दिन सकिने बताए। आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भुल्न नहुनेमा उनले जोड दिएको मन्त्रीका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए।



लोकपाटी न्यूज

