काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन्। नेपाल नगरपालिका संघको २९औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले यसका लागि सबै दलहरूबीच सहमति हुनुपर्ने बताए।
‘स्थानीय तहलाई स्थानीय सरकार भन्न केही छैन,’ उनले भने, ‘सबै पार्टीहरूको सहमतिमा यो काम गर्न गाह्रो छैन। तर महत्वपूर्ण कुरा सेवा प्रवाह हो। जनताका कामहरू स्थानीय तहले गर्नुपर्छ।’ देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गरे। उनले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताए।
‘स्थानीय तह नै जनताको नजिकको सरकार हो। स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने हो,’ देउवाले भने, ‘त्यसैले जनताको मन जित्ने गरी काम गर्नुस्। जनताका दुःखकष्ट हटाइदिनुस्।’ उनले सबै नगरपालिकाहरूलाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी स्वच्छ, सफा र सुरक्षित सहरको रुपमा विकास गर्नुपर्ने बताए।
उनले भने, ‘मुख्य कुरा भनेको सेवा प्रवाह हो। जनताको दुःख हटाउने काम गर्नुहोस्। तह शब्द हटाइदिउँला। जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस्।’ प्रधानमन्त्री देउवाले स्थानीय नीति निर्माण र कार्यान्वयनमा समेत जनतालाई सहभागी गराउन आग्रह गरे।



लोकपाटी न्यूज

