डलर सञ्चिति बढ्नासाथ आयातमा मार्जिन हटाउँछौं : अर्थमन्त्री

Janardan_Sharma
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री जनार्दशन शर्मा प्रभाकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार राजस्व असुली प्रभावित भएपनि मेहिनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए। स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने उनको भनाइ छ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेकाले अस्थायी रूपमा आयातलाई निरुत्साहीत गर्नु सरकारको बाध्यता भएको अर्थमन्त्री शर्माको भनाई छ। उनले स्थिति सहज हुनासाथ आयातका लागि एलसी (प्रतीतपत्र) खोल्दा सो बराबरको शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने प्रष्ट पारे। आयातमा गरिएको कडाईले भन्सार असुली केही प्रभावित भएपनि गलत घोषणा र न्यून बिजकीकरण लगायतका समस्या निराकरण गरी राजस्व लक्ष्य पुर्‍याउन उनले निर्देशन पनि दिए।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ। यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’ अर्थमन्त्रीले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ। तर, यो सधैंका लागि राखिएको होइन। हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको। स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ।’

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिए। यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो।

अर्थमन्त्रीले निर्यातमा सुधार भएको भन्दै खुसी व्यक्त गरेका छन्। ‘कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिश नाघेको छ। हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं,’ उनले भने, ‘तर, हामी यतिमा रोकिनु हुँदैन। प्रत्येक बर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा बढाउँदै व्यापार घाटा न्यूनीकरण गर्दै जानुपर्छ।’

यद्यपि, आयातीत वस्तुको मूल्यभन्दा निर्यात हुने वस्तुको मूल्य बढ्ने क्रम भने कम छ। आयातीत वस्तुको मूल्य १२ प्रतिशतले र निर्यात हुने वस्तुको मूल्य १० प्रतिशतले मात्र बढ्दा टर्म्स अफ ट्रेड (आयात र निर्यात मूल्य अनुपात) सम्बन्धी सूचकांक ओरालो लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्