सुनवल खानेपानी उपभोक्ताको नवौँ वार्षिक साधारणसभा सम्पन्न

लोकपाटी न्यूज

सुनवल। सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खड्का बस्नेतको अध्यक्षता र सुनवल नगरपालिकाका कार्यवाहक नगर अध्यक्ष दधिराम अर्यालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

कार्यवाहक नगरप्रमुख अर्यालले शुद्ध पिउने पानी नागरिकको मौलिक अधिकार भएको भन्दै सुनवलवासीलाई शुद्ध पिउने पानीको पहुँच पुर्‍याउनको लागि नगरपालिका सक्रिय रूपमा लागेको बताए। त्यस्तै साधारण सभाका विशेष अतिथि खानेपानी उपभोक्ता तथा सरसफाई महासङ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले लुम्बिनी प्रदेश भरीका पालिकामा महासङ बिस्तार गर्दै खानेपानी पहुँच वृद्धि गर्नका लागि समन्वय गर्ने बताए।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक विष्णु पौडेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, सुनवल नगरपालिका वाड नम्बर ४ का वडाध्यक्ष वीर बहादुर गुरुङ, नेकपा एकीकृत समाजवादी पार्टीका सुनवलका अध्यक्ष टेक बहादुर पुन लगाएतले मनतब्य राखेका थिए।

सुनवलको पिउनेपानीमा देखिएको आर्सेनिकबाट मुत्त हुने र दीर्घकालीन रूपमा स्वच्छ पानी आपूर्ति गर्न वातावरणीय नियम तथा कानुनको पालना गर्दै खानेपानी स्रोतको खोजी गर्ने र सुनवलवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराई पुर्नरुपमा सन्तुष्टि प्रदान गरी खानेपानी तथा सर्सफाईमा प्रतिबद्ध हुने उद्देश्यका साथ सुनवल खानेपानी संस्था लागि परेको संस्थाका अध्यक्ष खड्का बस्नेतले बताए। त्यस्तै अध्यक्ष बस्नेतले आयोजनाका स्वरुप, खानेपानी स्रोतको अवस्था, ऋण अवस्था, पानीको उत्पादन र वितरण साथै आगामी लक्ष्यहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाले हाल सुनवल नगरपालिकाका वाड नम्बर १,३,४,६ र १० मा गरी ३ हजार ६ सय ७० धारा जडान गरी ३२ हजार जनसङ्ख्यालाई दैनिक १७ लाख ८५ हजार लिटर पानी मध्य १४ लाख ९९ हजार पानी वितरण गरी दैनिक १६ घण्टा पानी वितरण गरेको छ। साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष तितली पुनको रहेको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेका थिए। संस्थाले चालु आर्थिक वर्ष २०७८ श्रवण देखि माघ मसान्त सम्मको जम्मा १ करोड ८२ लाख ९८ हजार ७२ रुपौलाको आयव्यय विवरण प्रस्तुत गरेको थियो। संस्थाका उपाध्यक्ष बल बहादुर थापाको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन सचिव हिमलाल पराजुलि रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्