स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्नु हुँदैन : अध्यक्ष ओली

लोकपाटी न्यूज

पोखरा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्न नहुने बताएका छन्। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताए।

सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उनले बताए। अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उनले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पारे।

स्वतन्त्रता एवम् हक अधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै उनले हक तथा अधिकारसँगै कर्तव्यको पालना गर्नेतर्फ पनि लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतीतमुखी नभई आगत मुखी हुनुपर्ने बताए।

पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड दिँदै उनले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको उल्लेख गर्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने बताए। उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले प्रेस चौतारी नेपालबाट प्रदान गरिने पुरस्कारबाट प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, उपाध्यक्ष शान्ति गुरुङ, लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीसहित विभिन्न व्यक्तिलाई सम्मान गर्यो भने प्रकाशित स्मारिकाको पनि विमोचन गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका पक्षमा पत्रकारिता क्षेत्रले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए। नेपाली कांग्रेस सधैँ लोकतन्त्र र प्रेस स्वतन्त्रका पक्षमा रहेको उनले बताए।

भोलिसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्