काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गरेका छन्। युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई नेटोले अस्वीकार गरेपछि जेलेन्स्कीले आलोचना गरेका हुन्।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताएको बीबीसीमा उल्लेख छ। तर, युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ।
नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको उनको टिप्पणी छ। उनले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ।
रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो। हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ। मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन्।



लोकपाटी न्यूज

