किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि आग्रह गरेका छन्। फेब्रुअरी २४ देखि युक्रेनी भूमिमा रुसले लगातार आक्रमण गर्दै आएको छ।
रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको वार्तामा पनि कुनै समाधान ननिस्केपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताका लागि आग्रह गरेका हुन्।
साथै उनले पश्चिमा मुलुकलाई सैन्य सहायता बढाउन पनि उनको अनुरोध छ। पुटिनको सैन्य कारबाही नरोक्ने भने उनले युरोपका अन्य देशमा पनि आक्रमण गर्न सक्ने जेलेन्स्कीको आकलन छ। किभमा पत्रकारहरूसँगको कुराकानी भनेका छन्, ‘यो होइन कि म पुटिनसँग कुरा गर्न चाहन्छु। तर मैले पुटिनसँग कुरा गर्नु छ। विश्वले पुटिनसँग कुरा गर्नु छ। यो युद्ध रोक्ने अर्को बाटो छैन।’ जेलेन्स्कीले पुटिनलाई सम्बोधन गर्दै सोधेका छन्, ‘तपाईं हामीबाट के चाहनुहुन्छ ? हाम्रो भूमि छाडिदिनुस् ।’
लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भने, ‘मसँगै बस्नुस्, ३० मिटर टाढा होइन ।’
दुई मुलुकबीच संघर्ष चलेको ९औं दिन पुग्दा दुवैतर्फ ठूलो क्षति भएको बताइएको छ। दुवै मुलुकले क्षतिबारे विभिन्न दाबी गर्दै आए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।



लोकपाटी न्यूज

