जनकपुर। नेपालको कानूनमा २० वर्ष नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ। केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो।
बालविवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ। अभियानअन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा ९ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।
कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। अभिभावलाई बालविवाह कानूनीरुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारवाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाउँदै आएको उनको भनाइ छ।
‘सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रियासँगै बालविवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौँ’, प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘यसबाट विगतको भन्दा बालविवाहमा कमी आउने विश्वास लिएका छौँ ।’ गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उनले बताए।
‘बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौँ,’ उनले भने ‘बास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजलगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौँ।’
प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन्। ‘केटी पक्षले राम्रो केटा र घर हेरे विवाह तय गर्ने गरेका छन्’, धनुषाको विदेह नगरपालिका-६ निवासी विजय मण्डलले भने, ’विवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भए पनि उमेरलाई खासै वास्ता गरिँदैन।’ कानूनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भए पनि वास्ता गर्दैन, उनको भनाइ छ। रासस



लोकपाटी न्यूज

