काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेको दलहरूको चुनावी तालमेल हुन नसक्ने बताएका छन्। महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्।
स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ-आफ्नै ढंगले उम्मेदवारी दिने उनको भनाई छ। तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा कुनै छलफल नभएको उनको भनाई छ। उनले भने, ‘स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि। स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ। त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ। र, विधानतः पनि त्यो सम्भव हुँदैन।’
महतले आवश्यकताको सिद्धान्त र आ-आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहोर्याए। उनले भने, ‘स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ। कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ। तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन।’



लोकपाटी न्यूज

