काठमाडौं। राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ। राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग हुने निर्णय लिएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धनबाट आफ्नो पार्टी अलग भएको बताए।
‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ,’ जनमोर्चाले भन्यो, ‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकोले त्यसबाट हाम्रो पार्टी आ कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौं।’
अध्यक्ष केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध भर्त्सना गरेको छ। केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पुर्याउने जिकिर गरे। एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको उनको भनाइ छ।
‘यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ,’ उनले भने, ‘सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौं।’ जनमोर्चाले एमसीसीबारेको व्याख्यात्मक प्रस्तावलाई समेत औचित्यहीन ठहर गरेको छ।
एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९-२२ गतेसम्म देशव्यापीरुपमा जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरू गर्ने तय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। जनमोर्चाले एमसीसीको निरन्तर विरोध गर्दै आएको छ भने संसदमा विपक्षमा मतदान गरेको थियो।



लोकपाटी न्यूज

