काठमाडौँ। सत्ता साझेदार दल माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने औपचारिक निर्णय गरेको छ। आइतबार बिहान खुमलटारमा बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। गठबन्धन दलबीच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन्।
आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन्। माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका छन्। कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ।
व्याख्यात्मक टिप्पणीमा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि हुने, बौद्धिक सम्पत्तिको अधिकार नेपालसँग रहने, नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने, लेखापरीक्षणको अधिकार नेपालसँग रहनेजस्ता विषय समावेश गर्ने तयारी गरेको छ।
सत्तारुढ दलहरु एमसीसीको पक्षमा उभिए पनि प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसीबारे औपचारिक निर्णय गरिसकेको छैन। एमालेले संसद अवरोध जारी राख्छ कि पक्ष वा विपक्षमा मतदान गर्छ, एकिन भइसकेको छैन।



लोकपाटी न्यूज

