काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबीसमेत गरे ।
शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए। एमसीसीलाई यथास्थितिमा पास गर्न नसकिने पनि उनले बताए।
नेपालले भने, ‘एमसीसी कहाँ-कहाँ जोडिएको छ त ? यो इन्डोप्यासिफिक अंग बनाएर आएको छ। यो अंग बनायो कसले ? वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए। त्यसपछि नेपाल त्यसको अंग बन्यो। पछि श्रीलंकाको नाम काटियो। नेपालको नाम रह्यो। जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्यौं। त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ। यो नेपाली जनताको संघर्षबाट भएको हो। केपी ओलीले सिध्याइसकेका थिए, नेपाललाई इन्डोप्यासिफिक अंग बनाउनका लागि। केपी आएपछि त फेरि सिध्याइदिन्छन्। फेरि बनाइदिन्छन। त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन।’
यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले दोहोर्याए। ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।



लोकपाटी न्यूज

