एमसीसीको विरोध गर्ने नेतालाई गठबन्धन बैठकमा किन बोलाइँदैन ?

Gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो। तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्न नेताहरू एमसीसी टेबल गर्न सहमत भएका हुन्।

गठबन्धनमा भएका दलमध्ये प्रधानमन्त्री देउवाको दल नेपाली काँग्रेस एमसीसी संसद्‍मा पेश गरेर तत्काल पारित गर्नुपर्ने पक्षमा छ। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा भने यसबारे विवादित मत थियो। यसअघि बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवाले एमसीसी टेबल गरे तत्काल सरकारबाटै बाहिरिने निर्णय गरेको थियो।

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्‍मा टेबल गर्न दिने, तर संशोधन नगरी पास गर्न नसकिने निर्णय गरेको थियो। एकीकृत समाजवादीले टेबल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र र जसपालाई दबाब परेको थियो। अन्ततः सरकारको प्रस्तावमा असहमति जनाउँदा तत्कालै सरकार छाड्नुपर्ने भएपछि गठबन्धन दलहरूले गठबन्धन जोगाउँदै अघि बढ्ने गरी एमसीसी टेबल गर्न तयार भएका छन्।

यद्यपि एमसीसी टेबल गर्ने निर्णयप्रति भने सत्ता गठबन्धनमा रहेका विभिन्न दलका नेताहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्। एमसीसी संसदमा टेबल गर्ने निर्णयले ती दलहरुबीच आन्तरिक किचलो बढाएको छ। शीर्ष नेताहरूले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेपछि ती दलका अन्य नेताहरू भने उक्त निर्णयको विरोधमा उत्रेका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन्। ‘एमसीसी संसदमा टेबल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन। हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने।

एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आपत्ति जनाएका छन्। उनले विदेशीको दबाबमा पार्टीहरू झुकेर एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको बताए। उनले संविधान विपरीत गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको आरोप लगाए।

‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन। संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिँदैन। यो संविधान विपरीत पनि छ,’ खनालले भने। शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको उनले स्मरण गरे। खनालले अगाडि थपेका छन्, ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरू भए । विदेशीहरूको दबाबमा पार्टीहरू झुक्दै गएको कुरा यसले देखाउँछ।’

शुक्रबार बिहान बालुवाटार बसेको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र सहभागी थिए। आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाइएन। त्यस्तै एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरूलाई पनि बोलाइएको थिएन। शीर्ष नेताहरूले पार्टीभित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए।

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको नेता खनालले जनाए। पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन्। एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले जानकारी दिए।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ।’ केसी एमसीसीको विपक्षमा छन्। उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्