डा. बाबुराम भट्टराई सुटुक्क भारतीय दुतावासमा

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे देशभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई मंगलबार साँझ सुटुक्क भारतीय दुतावासमा पुगेको खुलेको छ।

सभामुखले मार्शल लगाएर भए पनि एमसीसी पास गर्नुपर्ने उग्र अभिव्यक्ति दिँदै आएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई हिजो साँझ सुटुक्क भारतीय दुतावास छिरेका हुन्।

सरकारले बुधबार एमसीसी टेबल गर्ने तयारीका साथ प्रतिनिधिसभाको बैठक बोलाएको चर्चा भइरहेका बेला एमसीसी पक्षधर भट्टराई हिजो साँझ लैनचौरस्थित भारतीय दुतावास गएका हुन्। भट्टराईले झण्डै दुई घण्टा राजदूत विनयमोहन क्वात्रासँग छलफल गरेको बुझिएको छ।

एमसीसी विवादले राष्ट्रिय राजनीतिमा ध्रुवीकरण बढेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराई कूटनीतिक मर्यादाविपरित राजदूत भेट्न जानुलाई कतिपयले जसपाभित्रको आन्तरिक विवादसँग जोडेर हेरेका छन्। एमसीसीकै कारण जसपामा विवाद बढेको र त्यसमा डा. भट्टराईका अभिव्यक्तिले मलजल गरेको जसपाका एक नेताले बताए।

भट्टराई एमसीसीको पक्षमा ज्यान फालेर लागे पनि अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठले भने अहिलेसम्म धारणा सार्वजनिक गरेका छैनन्। स्रोतका अनुसार अध्यक्ष यादव बिना संशोधन एमसीसी पास गर्न नहुने पक्षमा छन्। त्यसैकारण यादवमाथि घेराबन्दी भइरहेको ती नेताले दाबी गरेका छन्। भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकारबाट बाहिरिनुपर्ने भन्दै उग्र अभिव्यक्ति दिन थालेका हुन्।

जसपाका बहुसंख्यक नेता हुबहु एमसीसी पास गर्ने पक्षमा नदेखेपछि भट्टराई आवश्यक परे पार्टी विभाजनसम्मको सोचमा पुगिसकेको स्रोतको दाबी छ। त्यसैका लागि भट्टराईले पत्नी हिसिला यमीमार्फत नयाँ दल दर्ताको तयारी थालिसकेको नेताहरूले आशंका गरेका छन्। भट्टराईका पछिल्ला अभिव्यक्ति र हिजो भारतीय राजदुतसँगको गोप्य भेटले त्यस्तो आशंकालाई बल मिलेको बताइन्छ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसीको पक्षमा उग्र अभिव्यक्ति दिँदै आएका छन्। एमसीसीको मुख्यालयले समेत नदिएको अभिव्यक्ति डा. भट्टराईले दिएपछि जसपाका नेताहरूले उनलाई ‘‘एमसीसीका प्रवक्ता’’ भन्दै व्यंग गर्न थालेका छन्।

सत्तारूढ दलभित्र एमसीसीबारे बिमति रहेका बेला भट्टराईले पार्टी फुटाएर देउवा सरकारमा सहभागी हुने र आउँदो चुनाव पनि कांग्रेससँग मिलेर लड्न सक्ने आंकलन गर्न थालिएको छ। त्यही प्रयोजनका निम्ति भट्टराईको सक्रियता बढेको कतिपयको विश्लेषण छ।