एमसीसी रोक्न प्रचण्डको ‘पोलिटिकल मुभ’

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। विकास आयोजनाका लागि अमेरिकाले दिने भनिएको अनुदान सहयोगमा सुरक्षा रणनीति जोडिएपछि एमसीसी राष्ट्रिय बहसको विषय बनेको छ। एमसीसी सम्झौताको विषयलाई लिएर देशको राजनीति नै ध्रुवीकृत भएको छ।

देशका प्रमुख दलहरुमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने र सम्झौतामा उल्लेखित राष्ट्रिय हितविपरितका प्रावधान संशोधन गर्नुपर्ने पक्षमा छ। राष्ट्रिय जनमोर्चा भने एमसीसीलाई सिधै खारेज गर्नुपर्नेमा छ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस हरहालतमा एमसीसी पास गर्ने पक्षमा देखिएको छ। कांग्रेसले आज बस्ने संसदको बैठकमा सरकारका तर्फबाट एमसीसी टेबुल गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल एमाले भने लगातार एमसीसीको पक्षमा उभिएर अन्तिममा मझधारमा देखिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी रोक्न अन्तिम प्रयास थालेका छन्। मंगलबारको सत्तारुढ दलको बैठकमा राष्ट्रिय सहमतिबिना एमसीसी पास गर्न नसकिने अडान लिएका प्रचण्डले बुधबार दिनभरि आफ्नो पोलिटिकल मुभ बढाएका छन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्। उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे। ‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’

बुधबार १ बजे बस्ने संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। यद्यपि, परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले नजाने भएको छ।

यता संसदीय दलको बैठक सकेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन्। सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्।

माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ। बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ। प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन्।

एमसीसी सम्झौता पारित हुन नदिन माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृसंगठन सडकमा विरोध गरिरहेका छन्। संसदमा नरहेका वाम घटकहरु पनि एमसीसीको विपक्षमा उभिँदै नेपाल बन्दको घोषणा गरेका छन्।

प्रचण्डले अन्तिमसम्म एमसीसी रोक्न कदम चाल्ने र त्यो सम्भव नभएर राष्ट्रवादी शक्तिहरु गोलबन्द गरेर अघि बढ्ने तयारीमा छन्। यसका लागि उनले प्रधानमन्त्री देउवा र कांग्रेसका अन्य नेताहरुसँग एमसीसी रोक्न अन्तिम कोशिश गर्नेछन्।