खगराज अधिकारीलाई कार्वाही गरियोस् : महेश बस्नेत

लोकपाटी न्यूज

काठमाडौं १, फागुन । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं युवा संघ नेपालका इञ्जार्च महेश बस्नेतले पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीलाई कार्वाही गर्न माग गरेका छन्।

आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले पार्टीले अधिकारीमाथि कार्वाही गर्नुपर्ने माग गरेका हुन्। अधिकारीले जनवर्गीय संगठनहरूमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै बस्नेतले कार्वाहीको माग गरेका हुन्।

बस्नेतले आफ्नो स्टाटसमा नेकपा एमालेसम्वद्ध सबै जनवर्गीय संगठनहरू आफ्नै विधानद्वारा सञ्चालित हुने भन्दै संगठन विभागको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। अधिकारीले संगठन विभाग प्रमुखको जिम्मेवारी धान्न नसकेकोसमेत बस्नेतले आरोप लगाएका छन्।

बस्नेतले संगठन विभागले जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू छान्ने अधिकार कहाँबाट पायो ? भन्दै अधिकारीमाथि प्रश्न गरेका छन्। संगठन विभाग पार्टीभन्दा माथि भएर जनसंगठन अस्तव्यस्त बनाउन सक्रिय रहेको बस्नेतको आरोप छ । बस्नेतले ७ बुँदामा अधिकारीको कार्यशैली र निर्णयको आलोचना गरेका हुन्।

‘‘कमरेड खगराज अधिकारी

१) पार्टीको जनवर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढङ्गले अगाडि बढ्ने गर्दछन्।

२) पार्टीको सचिवालयको बैंठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो ?

३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?

४) संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?

५) एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हावी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो ?

६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन विभाग चलाउन सक्ने ब्यक्ति होइन।

७) तसर्थ कमरेड खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु।’’