चितवन, २५ माघ। भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचारसंहिता लागु हुनुपूर्व नै भूमिहीनले लालपूर्जा पाइसक्ने बताएकी छन्।
भरतपुर महानगरसहित चितवनका ३ स्थानीय तहमा अहिले भूमिहीनलाई लालपूर्जा बितरण गर्ने गरी निस्सा बितरण र नापीको काम सुरू भएकाले निस्सा बितरण भएको ३५ दिनभित्र रातो पूर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउँदै दाहालले स्थानीय तह निर्वाचन आचारसंहिता लाग्नुपूर्व नै भूमिहीनलाई लालपूर्जा बितरण गरिसक्ने दाबी गरिन्।
भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले विगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडि नै पूरा गर्ने गरी आफूहरू भूमिहीनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताइन्।
उनले भनिन्, ‘‘अब निर्वाचन घोषाणा भइसकेको छ, काम गर्न धैरै छ, अब अरु विकासभन्दा पनि मेरो ध्यान भूमिहीनलाई जग्गाको मालिक बनाउन तर्फ बढि केन्द्रित हुन्छ, त्यसका लागि म र हाम्रो पार्टी, केन्द्र सरकारदेखि स्थानीय तहसम्म नै भूमिहीनकोे समस्या समाधानमा लागेको छ।
बिगतमा धेरै आयोग बने पनि भूमिहीनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमा नै भूमिहीनलाई जग्गाको मालिक बनाउन लागिएको दावी गरिन्।
मेयर दाहालले आफू निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबीसमेत गरिन्। उनले विरोधीहरूसमेत महानगरको विकासबाट खुसी रहेको बताइन्। मेयर दाहालले भनिन्, ‘‘विरोधीहरूले समेत महानगरमा विकास भएको छैन भनेर आजसम्म भन्न सकेका छैनन्, भरतपुर महानगर विकासमा देशको नमुना बनेको छ। अझै नमुना बन्नेछ।’’
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, क्रान्तिकारी–माओवादी लगायतबाट पार्टी परित्याग गरी २२२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई महानगर प्रमुख तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दाहालले स्वागत गरेकी थिइन्।



लोकपाटी न्यूज

