राष्ट्रिय सभा सदस्य निर्वाचन : वाग्मतीमा ६ जनाको उम्मेदवारी दर्ता

लोकपाटी न्यूज

काठमाडाैं। राष्ट्रिय सभा सदस्य चुनावका लागि वाग्मती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे माघ १२ गते हुने चुनावका लागि महिलातर्फ तीन जना र अन्यतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई/दुई जना रहेका छन् । उनीहरूले आज मङ्गलवार हेटौँडामा रहेकाे प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावमा उठ्दैछन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल (काठमाण्डाै) ले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छन्।

त्यस्तै चुनावका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुली) ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै चुनावका लागि नेमकिपाबाट कृष्णबहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदाे फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ। रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि चुनाव हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरूको भोलि बुधवार २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्