काठमाडाैं। प्रदेश २ को नाम र राजधानीकाे टुंगाे लगाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। नाम र राजधानीमा दलीय सहमति नभएपछि यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको हाे।
समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सांसदहरुलाई सदस्यमा राखिएको छ। समितिमा प्रत्येक पार्टीबाट दुईजना सांसद राखिएको छ भने जसपाबाट ३ जना सांसद रहेका छन्।
समितिको सदस्यहरुमा कांग्रेस सांसद शिवचन्द्र चौधरी,उपेन्द्र कुश्वाहा,जसपाका विन्देश्वर यादव ‘बिक्की’, संजय यादव र शैलेन्द्र कुमार यादव, माओवादीका जगत यादव र दिलिप साह, एमालेका शारदा थापा र किशोरी साह कमल, लोसपाका परमेश्वर साह र सुरिता साह रहेका छन्।
त्यसैगरि, सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सत्रुधन महतो र सुन्दर वहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादी पार्टीबाट सवित्री देवी साह रहेका छन्।
समितिले प्रदेशको नाम र राजधानीको विषयमा दलहरुले राखेको प्रस्तावको अध्ययन, छलफल तथा दलहरु बीच अन्तर्क्रिया गरि दलीय सहमतिको प्रयास गर्नेछ। समितिले काम थालेको १५ दिन भित्रमा प्रतिवेदन सभामा पेश गर्न म्याद तोकिएको छ।



लोकपाटी न्यूज

