सर्वदलीय बैठक सकियो, के भयाे छलफलमा ?

लोकपाटी न्यूज

काठमाडौं । संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक बिना निश्कर्ष सकिएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ ।

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए ।

सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए ।

‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्