शिक्षा नियमावली संशोधन गरेर शिक्षकका समस्या समाधान गर्छाैं : मन्त्री पौडेल

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संशाेधन गरेर भए पनि शिक्षक तथा कर्मचारीहरुको समस्या समाधान गरिने बताएका छन्। बुटवलस्थित कान्ति माविको ६८औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बाेल्दै मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानको लागि सरकार तयार रहेको बताए।

स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा शिक्षक सेवाबाट स्थायी रुपमा पदपूर्ति गर्न लागिएको भन्दै उनले विद्यार्थी अनुपातमा दरबन्दी सिर्जना गरिने बताए। पौडेलले यही वर्षमा नै शिक्षक केन्द्रित केन्द्रीयस्तरको अस्पताल निर्माणको लागि सरकारले काम अगाडि बढाएको बताए। यही वर्षदेखिनै अस्पताल निर्माणको काम सुरु हुने उनले बताए।

यस्तै प्रदेश प्रदेशमा एउटा नमुना विद्युतीय पुस्तकालय स्थापनाको लागि सरकारले पहल गरिरहेको उनको भनाइ छ। कान्ति मावि नेपालमा विज्ञान विषयको लागि नमूना विद्यालय रहेको भन्दै पौडेलले विद्यालयको भवनसहितको भौतिक पूर्वाधार निर्माणको लागि बजेट कमी हुन नदिने बताए।

उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार विकास, भवन निर्माणको लागि कुनै पनि बजेट कमि हुँदैन, यो कुरामा समस्या भए डाइरेक्ट मसँग आउनुहोला।’ प्रदेशको नमुना विद्यालय मात्रै नभएर देशकै नमुना विद्यालय बनाउने गरी काम अगाडि बढाउनका लागि मन्त्री पौडेलले आग्रह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्