काठमाडाैं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा साँझ ६ बजेसम्म ३ हजार मत खसेको निर्वाचन समितिले जनाएकाे छ। मतदान निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरी सुरू गरिएकाेले समितिले मतदानकाे समय पनि राति ९ बजेसम्मलाई ताेकेकाे छ।
एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा मतदान केन्द्रकाे व्यवस्था गरिएको छ। महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय बढी लागेको हो।
मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि मत गणना सुरू हुनेछ। उपसभापतिलगायत अन्य पदका लागि भने मत बाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।



लोकपाटी न्यूज

