केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँडप्रति रावलको आक्रोश

Bhim_rawal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै आक्रोश पोखेका छन् । केन्द्रीय कमिटीले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै उनले असन्तुष्टि जनाए ।

साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रमा नेता रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको बताएका छन् ।

देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित काम भएको भन्दै उनले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिए। नेता रावलले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि ओलीले त्यस्तो गर्न नसकेकाे बताए।

अर्काे प्रसङ्गमा नेकपा एमालेकाे पूर्वउपाध्यक्ष समेत रहेका नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र पूरा हुन नदिने बताए । सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट त्यसलाई अनुमोदन गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्