काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन्। आज सोमवार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्ताे बताएका हुन्।
शेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै उनले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए। उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताउँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको स्पष्ट पारे।
शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ काम भइरहेको उनले जानकारी दिए। लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उनले आग्रह गरे।
अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको भन्दै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे। ‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’



लोकपाटी न्यूज

