काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ । चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।
वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।
माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरियतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि परेका छन् । ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गुरुङले पनि यो गलत भयो सच्याउनुपर्छ भनेका थिए ।
ओलीले पेश गरेकाे प्रस्तावमाथि आफूलाई चित्त नबुझेकाे भन्दै सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन्। त्यस्तै घनाश्याम भुषालले पनि प्रस्ताव स्वीकार गर्न नसकिने अन्यायपूर्ण भएकाे भन्दै सबैले स्वीकार्न सक्ने प्रस्ताव ल्याउन सुझाव दिएका थिए।
त्यस्तै तीन जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्। सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट पहिलो र दस्रोमा रहँदा त्यसपछि क्रमशः रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्।



लोकपाटी न्यूज

