काठमाडाैं। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको बताएका छन्। उत्कृष्ट मध्येकाे उत्कृष्टलाई जिम्मेवारी दिइएकाे भन्दै ओलीले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताएका हुन्।
भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौं।’
केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताए। पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्न गाह्रो भएको उनले बताए।
लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठीक गर्छ भन्ने नभएकाे भन्दै उनले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासीलो र लोकतान्त्रिक हुने बताए।



लोकपाटी न्यूज

