अबकाे हाम्राे लडाईं वित्तीय एकाधिकार पूँजीवादसँग हाे : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका छन् । पूँजीको लगानी उत्पादनमूलक उद्योगहरुमा हुनुपर्नेमा अन्यत्रै भएको उनले बताएका हुन् ।

शेयर लगानीकर्ताहरुले ‘पूँजीबजार विरोधीलाई नो भोट’ अभियानको घोषणा गरेको भोलिपल्टै प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि यसलाई चासोको साथ हेरिएको छ । ९० को दशकपछि समाजवादी भनिएका देशहरु गर्ल्याम-गुर्लुम्म ढलेपछि पूँजीपतिहरुले अब कम्युनिज्म सकियो र पूँजीवादको विजय भएको भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले भने, ‘विचारको मृत्यु भइसक्यो, अब त सबै चिज बजार नै हो, पूँजी नै हो भनेर होहल्ला गरिएको तपाईं हामीले नै हो नि !’

शनिबार माओवादी केन्द्रको प्रदेश अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै उनले पूँजीको लगानी पूँजीमै हुनु दुःखद भएको बताए । आफूले निर्णय सुनाएको नभई अध्ययन र अनुसन्धान गर्न प्रस्ताव गरिएको भन्दै प्रचण्डले संशोधनवाद र पूँजीवाद पनि भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादमा जोडिएर आएको बताए ।

यो समस्या लेनिन र माओले राम्रोसँग देख्न र अध्ययन गर्न नपाएको भन्दै प्रचण्डले वित्तीय एकाधिकार पूँजीबाद के हो ? यसको चरित्र कस्तो हुन्छ ? यसलाई परास्त कसरी गर्ने भन्ने जिम्मा आफूहरुको काँधमा आएको बताए ।

उनले भने, ‘पहिला-पहिला पूँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पूँजीपतिहरुले लिन्थे, आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पूँजीको लगानी पूँजीमै हुन्छ। पूँजीको लगानी पूँजीमै हुने वित्तीय एकाधिकार पूँजीबादको विशेषता भएर देखा पर्यो धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा यी बैंक हुन् पैसा यताउता गर्छन् भनिन्छ, तर होइन त्यति सजिलो ।’

यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पूँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्