प्रदीप पौडेल बने सिटौलाका विश्वासपात्र

pradip paudel
लोकपाटी न्यूज

काठमाडाैं। काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले युवा नेता प्रदीप पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् ।

यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् । उनले भने, ‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो उहाँहरुलाई स्थापित गर्ने मेरो लक्ष्य हो। आजको दिनमा मैले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु ।’

उनले आफूले युवाहरुलाई पार्टीमा स्थापित गर्न चाहेको बताए । सिटौलाले आफ्नो समूहबाट पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् । उनले उमेरले आफू पाको भइसकेको भन्दै अब छोराछोरी पुस्तालाई अघि बढाउने बेला आएको पनि बताए ।

उनले आफू काँग्रेसभित्रको एकताको पक्षमा रहेको बताउँदै आफू जहाँ रह्यो पार्टी पनि त्यही ठाउँमा रहने जिकिर गरे । पार्टीलाई निजी स्वार्थ पूरा गर्ने भाँडो बनाउन नहुनेप्रति जोड दिँदै सिटौलाले पार्टी जनतासँग जोडिनुपर्ने बताए । ‘नीजि स्वार्थ पुरा गर्ने अनेक पाटाहरु छन् । पार्टीमा चाहिँ जनताको पक्षमा काम गर्नुपर्छ’, सिटौलाले भने, ‘नेताहरु आफू केन्द्रीत भए भने देश बबर्दादीको बाटोतिर जान सक्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्