काठमाडाैं। नेपाली काँग्रेसको १४ महाधिवेशन मिति सन्निकटमा पुग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । दुई दिनपछि मंसिर २४ गते उद्घाटन हुने काँग्रेस महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरूले धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् ।
झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ ।
महाधिवेशनबाट निर्वाचित हुने दुई महामन्त्री पदका लागि अहिलेसम्म एक दर्जन नेताहरुले दावेदारी पेश गरिसकेका छन् । जसमा संस्थापन पक्षका ६ र संस्थापनइतर पक्षका ५ र सिटौला समूहबाट १ जना छन् ।
संस्थापन पक्षबाट बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले महामन्त्रीका लागि दावेदारी पेश गरिसकेका छन् ।
त्यस्तै संस्थापन इतर पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् भने सिटौला समूहबाट भने प्रदीप पौडेलले महामन्त्रीको दावी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।



लोकपाटी न्यूज

