काठमाडाैं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफूहरु लागि परेको बताएकी छन्।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताइन्।
मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उदेश्य रहेकाले आफूले मन्त्रालय संहालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि बताइन्।
मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मृत्यु शैयामा पु¥याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान जोगाउन सकिएको भएपनि चुनौति अझै रहेकाले त्यस तर्फ सबै सचेत बन्नुपर्ने बताए।
संविधान मास्ने प्रतिगामी तत्वहरु अझै जीवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले बताइन्। मन्त्री श्रेष्ठले यस महिनाभित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँब्लकको अधिंकाश ठाउँमा लालपूर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफूले काम शुरु गरिसकेको बताइन्।
मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।
उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी आएका ३०० भन्दाबढी कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहेकै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको पनि बताइन्।



लोकपाटी न्यूज

