काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्। बुधवारबाट राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न सुझाव दिँदै अप्रत्यक्ष रूपमा राजा ल्याउनका लागि वकालत नगर्न अनुरोध गरे।
‘नेपाल एउटा यस्तो देश, जहाँ जातीय द्वन्द्व छैन। धार्मिक द्वन्द्व छैन। यो देशमा नेपालको आफ्नो किसिमको जुन स्थिति विद्यमान छ। राष्ट्रिय एकताको जुन भावना छ, जातीय सदभावको भावना छ। त्यसलाई दह्रो बनाउने काम गरौं,’ अध्यक्ष नेपालले भने, ‘कहीँ अनुचित कुरा छन्, त्यसलाई हटाऔं र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं। प्रतिगमनतर्फ कोही नलागौं।’
अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरू अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।



लोकपाटी न्यूज

