काठमाडाैं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन्। युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै उनले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताएका हुन्।
मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताए। कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै उनले सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राखे।
मन्त्रालय मार्फत् युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री अथकको बुझाई छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै मन्त्री अथकले चिन्ता समेत ब्यक्त गरे।
मन्त्रालयका औपचारिक तथा आन्तरिक बैठकहरुमा समेत मन्त्री अथकले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिँदै आएका छन्। विदेशी भूमिमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनका लागि आवश्यक रणनीति तय गर्न बृहत्त युवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै मन्त्री अथकले प्राकृतिक स्रोत साधन र युवाहरुको श्रमलाई सही ढंगले सदुपयोग गर्न सकेमा समृद्धिको नयाँ ढोका खोल्न सकिने विश्वास समेत व्यक्त गरे।



लोकपाटी न्यूज

