नेकपा एमालेकाे महाधिवेशन : एक सय भोटिङ मेशिनको व्यवस्था

uml-yemale-mahadhibesan_pic
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको जनाएकाे छ । नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो ।

नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मङ्सिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा मङ्सिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्ने जनाएकाे छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मङ्सिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर १२ गते मतदान प्रक्रिया हुने छ ।

यसैगरी, एक सय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगले बनाएकाे छ । आयोगका अनुसार ९२ वटा मेशिनहरू निर्वाचनका लागि प्रयोग गरिने छ। तीन वटा मेशिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ । र, पाँच वटा मेशिनहरू जगेडामा राखिने छ । मतदानका क्रममा कुनै मेशिनमा गडबडी आएमा जगेडाका मेशिनहरू प्रयोग गरिने आयाेगले जनाएकाे छ ।