बैंकहरु पैसाको व्यापार गर्ने केन्द्र मात्र होइनन् : अर्थमन्त्री शर्मा

लोकपाटी न्यूज

काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन । सर्वसाधारणको पैसा सस्तोमा किन्ने र महँगोमा बेचेर नाफा खाने काम मात्र बैंकहरुको होइन । बैंकहरुसँग निकै ठूलो जिम्मेवारी पनि हुन्छ, त्यो बैंकहरुले महशुस गर्नुपर्छ । सर्वसाधारणको पैसा लिएपछि त्यसको सुरक्षा गर्नु र मुनाफा दिनु पनि बैंकको दायित्व हो । मुख्यतः मुलुकको अर्थतन्त्र सन्तुलनमा राख्न बैंकहरुको अहम् भूमिका रहन्छ । यसलाई बैंकहरुले भुल्न हुँदैन ।’

सोही अवसरमा उनले लगानी योग्य रकम (तरलता) कहाँ जाँदैछ र केमा प्रयोग हुँदैछ भन्ने कुरामा पनि बैंकहरुले हेक्का राख्नुपर्ने बताए । अहिलेको तरलता अभावको अवस्थामा अनावश्यक क्षेत्रमा पैसा जानबाट रोक्दै बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने समेत उनले बताए ।

यस्तै अहिलेको समयमा विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) आयात घटिरहेको र आयात बढिरहेको अवस्थामा त्यसलाई समेत ख्याल गर्दै विदेशी मुद्रा सञ्चितिमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्