शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक र सामाजिक क्रान्तिमा शिक्षकहरुको ठूलो योगदान रहेको बताएका छन् ।अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्ताे बताएका हुन्।

उनले भने, ‘नेपालमा जति पनि पार्टी छन् शिक्षककै योगदानका दल छन् । सबभन्दा धेरै गाउँमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने, राजनीतिक नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्।’

दाहालले शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताए । ‘अब शिक्षकहरुले राजनीति गर्नुहुन्न भनिदिए पछि राजनीतिक सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही होइन,’ उनले भने, ‘शिक्षकहरु अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्नुपर्छ । अनि मात्र सामाजिक रुपान्तरणमा देशमा लैजान सकिन्छ।’

राणाकालदेखि त्यसपछिका आन्दोलनलाई जनव्यापी बनाउने कुरामा शिक्षकहरुको भूमिका रहेको उनको भनाइ छ । उनले भने ‘शिक्षकहरुलाई राज्यले सेवा सुविधा सम्मान अनुसन्धानमा सहभागी गराउनुपर्छ । हामीकहाँ उल्टो छ । सबैभन्दा बढी विभेदमा पारिएको छ । त्यही भएर राजनीतिक क्रान्तिलाई साथ दिएको मजदुर र श्रमजीवीलाई साथ दिएर क्रान्तिकारी भएको हो । राज्यले साथ नदिएपछि क्रान्तिमा आउनु परेको छ । शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ।’

अब समाजवादी क्रान्तिको नयाँ चरणमा शिक्षकहरुले अझ सशक्त रुपमा समाजवादी रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।शिक्षकहरुको आत्मसम्मानका लागि अझै पनि एउटा लडाइँ लड्नुपर्ने र शान्तिपूर्ण ढंगले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्