एमाले महाधिवेशन : कुन पदमा को को दाबेदार ?

uml-yemale-mahadhibesan_pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको गृहकार्य गरिरहेका बेला नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेपछि अन्य नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका हुन्। अहिलेसम्म प्रदेश १ अध्यक्ष देवराज घिमिरेले केन्द्रीय उपाधक्ष्यमा र सचिवमा महेश बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। जसको कारण एमालेमा नयाँ परिस्थिति सिर्जना भएको छ।

नेतृत्वले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका कारण पदका आकांक्षी नेताहरू अहिले ‘तैं चुप मै चुप’को अवस्थामा छन्। सर्वसम्मतको प्रयास सफल नभए अनौपचारिक छलफलमा रहेका पदका आकांक्षी नेताहरूले पनि उम्मेदवारी घोषणा गर्ने छन्। यद्यपि अध्यक्ष ओलीले आकांक्षीहरू नेताहरूसँग आन्तरिक ‘लबिङ’ जारी राखेका छन्। तर, अहिलेसम्म ओलीले कसैलाई पनि आश्वासन दिएको देखिँदैन। तैं चुप मै चुपको अवस्थामा रहेका धेरैजसो नेताले सबै पक्षलाई मिलाएर लैजान सुझाव दिइरहेका छन्।

‘सकेसम्म सहमतिका लागि प्रयास गरिने तर त्यो सम्भव नभए निर्वाचन हुनु स्वाभाविक रहेको’ एमाले नेताहरू बताउँछन्। यसअघि केन्द्रीय सदस्यमा निर्वाचन हुन्छ भन्नेमा सबै एकमत थिए। पदाधिकारीमा भने अन्तिमसम्म सहमतिको प्रयास हुने नेताहरूले बताउँदै आएका थिए। पदाधिकारी निर्वाचन हुँदा ओलीको भूमिका के रहला भन्नेमा धेरैको जिज्ञासा पनि छ। ओलीले कसैका लागि मत नमाग्ने र त्यसको संकेतसम्म पनि नगर्ने बताइन्छ। एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने भएका छन्। अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र ७ सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्।

विधानमा रहेको ७० वर्षे उमेरहदका कारण नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहितका ६ जना पदाधिकारीलाई यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन्। ११ औं महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन्। त्यसकारण पनि सर्वसम्मत पदाधिकारी चुन्ने प्रयास सफल नहुने नेताहरु बताउँछन्।

उमेरहदका कारण महासचिव ईश्वर पोखरेल, अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङ, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। उनीहरू सबै उपाध्यक्ष पदका आकांक्षी नेता हुन्। नयाँ पुस्ताका केही नेताहरूले पनि पार्टी पदाधिकारीमा दाबी गरिरहेका छन्। हाल एमालेमा १० बुँदे सहमतिबाट आएका, पूर्व माओवादी र संस्थापन पक्ष गरी तीन वटा समूह छन्। उनीहरूलाई समेट्न नेतृत्वलाई सकस हुने देखिएको छ।

सबैभन्दा सकस वरिष्ठ उपाध्यक्षमा हुने देखिएको छ। महासचिव ईश्वर पोखरेल, संसदीय दलका नेता सुवास नेम्वाङ, बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा, उपाध्यक्ष युवाराज ज्ञवाली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वरिष्ठ उपाध्यक्षका दाबेदार हुन्। अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्नेबारे मुख खोलेका छैनन्। तर, महासचिव पोखरेललाई वरिष्ठ उपाध्यक्षका लागि ओलीले अघि सार्ने तयारी रहेको बुझिएको छ। पोखरेलले पनि सार्वजनिक रूपमै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहने बताउँदै आएका छन्। उनले अध्यक्षमा ओलीलाई सघाउने र ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई अघि सार्ने सहमति भएको ओली निकट नेताहरूको मत छ। जसलाई पोखरेलले पनि नकारेका छैनन्।

त्यस्तै उपाध्यक्ष पदमा केही पुराना अनुहारसँगै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। विधान अनुसार अब एमालेमा ४ जना उपाध्यक्ष मात्र हुनेछन्। उपाध्यक्ष पद पनि धेरै नेताहरू आकर्षित देखिन्छन्। जसमा माओवादी पृष्ठभूमिका नेताहरू पनि छन्। पार्टी एकताको सन्देश दिन पनि माओवादी पृष्ठभूमिका नेताहरूलाई समेट्नुपर्ने बाध्यता छ। जसका लागि पूर्व माओवादी पक्षबाट लेखराज भट्ट दाबेदार हुन्। यता उपाध्यक्षका लागि दाबी गर्ने अर्का नेता हुन् उपमहासचिव घनश्याम भुसाल। उनले एमालेको महासचिव या उपाध्यक्ष के मा दाबी गर्ने भन्नेबारेमा भने आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्। एमालेमा १० बुँदे सहमति गरेर फर्किएका नेताहरूले पनि उपाध्यक्षका लागि दाबी गरिरहेका छन्।

यदि वरिष्ठ उपाध्यक्षमा नपाए उपाध्यक्षमा दोहोरिने आकांक्षा अष्टलक्ष्मी शाक्यले पनि राखिरहेकी छन्। यस्तै स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि उपाध्यक्षका लागि दाबी गरिरहेका छन्। किरण गुरुङ र लालबाबु पण्डितले पनि उपाध्यक्षका लागि लबिङ थालेका छन्।

यस्तै, महासचिव पद पनि नेताहरूका लागि ‘हट केक’ हो। दसौं महाधिवेशनबाट को महासचिव बन्छ भन्ने विषय निकै महत्वका साथ हेरिएको छ। महासचिव भएपछि एमालेको नेतृत्वका लागि दाबी गर्न पनि सहज हुने भएकाले महासचिवमा आकर्षण देखिएको हो। ईश्वर पोखरेल दुई कार्यकाल महासचिव भइसकेकाले उनी अब महासचिवमा दोहोरिन मिल्ने छैन। एमालेको विधानमा दुई कार्यकालभन्दा बढी एकै पदमा बस्न नमिल्ने व्यवस्था छ।

महासचिवका लागि एमालेभित्र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच रस्साकस्सी छ। नवौं महाधिवेशनमा पाण्डे पोखरेलसँग महासचिवमा पराजित भएका थिए। उपमहासचिव विष्णु पौडेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा महासचिव बनेका थिए। गुरुङ गण्डकी र पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट हटेका नेता हुन्।

सचिवमा झन् धेरै नेताहरू आकांक्षी देखिएका छन्। एमालेको नवौं महाधिवेशनबाट ५ जना सचिव छानिएका थिए। प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई एमालेको सचिव छन्। १० औं महाधिवेशनबाट भने ७ जना सचिव छानिने छन्। त्यसमा यी पाँचै जनाले त्यो भन्दा माथिल्लो पद नपाए पुरानैमा भए पनि दोहोरिने आकांक्षा राखिरहेका छन्।

सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल लगायत नेताहरूले दाबी गरिरहेका छन्। गोकुल बास्कोटा, महेश बस्नेत, डोरमणि पौडेल, कर्ण थापा, मणि थापा, रघुवीर महासेठ, शेरधन राई लगायतको नाम पनि सचिवको लागि चर्चामा छ। शेरबहादुर तामाङ, राधा ज्ञवाली, पद्मा अर्याल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, बिन्दा पाण्डे, खिमलाल भट्टराई पनि सचिवमा दाबी गरिरहेका छन्।

चुनावमा प्रतिस्पर्धा गर्ने अधिकांश व्यक्तिहरू ओली पक्षधर भएकाले उनले कसैको पनि पक्षमा लबिङ गर्न सक्दैनन्। ओली स्वयंले पूर्वमाओवादी तर्फबाट एक जनालाई सचिव बनाउन चाहेका छन्। प्यानल बनाउने गरी निर्वाचन लड्न नपाउने नीति एमालेले पारित गरिसकेकाले अब कसको पक्षमा को भनेर औपचारिक रूपमा खुलाउन पाइँदैन। यसले पदाधिकारीका आकांक्षी सबैले उम्मेदवारी दिन सक्ने सम्भावना पनि उत्तिकै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्