चितवन । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पूरा गर्दै आएको बताएका छन् । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन्।
उनले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहाँको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा बृद्धि गर्न समयमै गुणस्तरीय ढंगले निर्माण पूरा गरी संचालन गर्नुपर्ने बताए।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा धुलाम्मे रहेका अधिकांश सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पूरा गरेरै छाड्ने बताए । समग्र भरतपुरको विकासमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख नेतृत्वले लोभलाग्दो काम गरेर विकासको नमुना प्रस्तुत गरेकोमा उनले प्रशंसा समेत व्यक्त गरे ।
सो अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भूमिहिन , सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि बढाईसकेको बताए । उक्त कामको लागि चितवन पहिलो चरणमा छनोट भैसकेको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै उर्जा तथा सिँचाईमन्त्री पम्फा भुसालले आयोजना समयमै सम्पन्न गरी संचालनमा ल्याउन आयोजनाका प्रमुखलाई निर्देशन दिइन् । उनले भनिन्, ‘समृद्ध तराई मधेस विशेष कार्यक्रम आयोजना अन्र्तगत यो आयोजना संचालनमा रहेको छ जसअन्तरगत भरतपुर र माडी नगरपालिका क्षेत्र भित्र करिब ४ अर्ब रूपैयाँ बराबरको लगानी हुनेछ’।
कार्यक्रममा मन्त्रालयका सचिब ताराकुमार राइले उक्त आयोजना नेपालको सिँचाई प्रणालीमा नयाँ प्रयोग भएको र यसले सिँचाईको अभाबमा बाँझो रहेका जमिनहरूमा सिँचाईको प्रबन्ध हुने बताए । उक्त आयोजना ८ करोड ५७ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भई १ बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने लक्ष कार्यालयले लिएको छ ।
यस्तै सोमवार नै अध्यक्ष प्रचण्डले वडा नं २४ र २७ को सुख्खा जमिनमा सिँचाईका लागि निर्माण गरिएका ५ वटा डिप बोरिङकोको उद्घाटन गरेका छन् । सिँचाई बिभागबाट संचालित बोरिङ तथा डिप बोरिङको गरी भरतपुर महानगरपालिका क्षेत्रभित्र १७४ स्थानमा निर्माण गरिएको छ।
सो अवसरमा उर्जामन्त्री पम्फा भूसालले भरतपुरका किसान तथा नागरिकहरूले अब सिँचाईको अभाब महसुस गर्नु नपर्ने बताउँदै अन्य आवश्यकता रहेका स्थानमा थप निर्माण गर्न योजनाहरू पेस गर्न समेत आग्रह गरिन् । मन्त्री भूसालले चितवन क्षेत्र नं ३ का नागरिकले परिवर्तनका बाहक अध्यक्ष अभिभाबक पाउनु गर्बको बिषय भएको बताईन् ।
उनले सिँचाईको प्रबन्धबाट बहुआयामिक लाभ लिन समेत उपभोक्ताहरूलाई आग्रह गरिन् । ५ अर्बको लगानीमा नारायणी नदी नियन्त्रणका लागि तटबन्धन गर्न बजेटको सुनिश्चिततासहित यसै बर्षबाट काम सुरू हुने समेत बताइन्। वडा न २४ को सुखा तथा उर्वर जमिनमा यो आयोजना सम्पन्न हुँदा ३ सय बिगाहा क्षेत्रमा सिँचाई सुबिधा पुग्ने छ ।



लोकपाटी न्यूज

