दूरदराजसम्मका जनतालाई प्रविधिसँग जाेड्छाैं : मन्त्री पाैडेल

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताएका छन् । नास्टको सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताएका हुन्।

सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका उनले आजको युग सुहाउँदो विकासमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनले उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए।  मन्त्री पौडेलले भने, ‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो। यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।’

नजिकैका दुई मित्रराष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए। उनले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि बिना देश समृद्धि नहुने बताइन्।  उनले नास्ट काठमाडौंमा मात्र केन्द्रीत नभइ ग्रामिण क्षेत्रमा पनि लैजानुपर्नेमा जोड दिएकी छन्।

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिए। उनले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने पनि बताए। ‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको बताउँदै उनले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवद्र्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिररहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्