चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए।
प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्च निर्माणको काम भइरहेको बताए। उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिने श्रेष्ठले बताए।
मङ्सिर ९ गते हस्तान्तरण गर्ने गरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत आजदेखि नै सुरु भइसकेको श्रेष्ठले जानकारी दिए।
पत्रकार सम्मेलनमा अनुगमन समितिको संयोजक काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताए। समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्तिको व्यवस्थापन गरेको उनकाे भनाइ छ । महाधिवेशन तयारीको कामले हिजोदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताए।
मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट ¥याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताए। गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट ¥याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताए। व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताए।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन्। जिल्लामा रहेका सुरक्षा निकायहरुसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षाको काम भइरहेको रावलले बताइन्।



लोकपाटी न्यूज

