नेकपा एमाले महाधिवेशन : उमेर हदले बाहिरिँदैछन् यी नेता

uml-yemale-mahadhibesan_pic
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेको १० औं महाधिवेशन नजिकिएकाे छ। महाधिवेशन नजिकिएसँगै पार्टीकाे नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस पनि चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ ।

गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हद लागू गरेकाे थियाे। साेही उमेर हदका कारण एमालेको शक्तिशाली भूमिकामा रहँदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् ।

अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १० औँ महाधिवेशनबाटै बिदाई हुने थिए । किनकी ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् । विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् । बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै बाहिरिँदैछन्। उनी ७० वर्ष पुगिसकेका छन् ।

अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका कारण चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् ।