काठमाडाैं। युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज अथकले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन्। नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन्।
बुधबार बेलुका ककनी पुगेका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराई, WOMS Consultanc देवराज घिमिरे लगाएतले स्वागत गरेका थिए।
त्यस क्रममा मन्त्री अथकले स्काउटको MTOT Session मा सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। WOMS (World Organization of the Scout Movement) ले आयोजना गरेको तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताए । सानै उमेरदेखि सेवा भावको विकास गर्ने पवित्र उद्धेश्य बोकेको स्काउटको संस्थागत विकासका लागि मन्त्रालय सम्हालेकै दिनदेखि आफू लागिपरेको बताउँदै उनले स्काउटको नाममा देशब्यापी रुपमा रहेका संरचनाहरुको संरक्षणमा विशेष जोड दिन आग्रह गरे।

युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफू दृढ रहेको बताउँदै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए।

राज्यका सबै नागरिकहरुलाई कम्तिमा पनि प्राथमिक स्तरको शैन्य तालिम दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले भने, “देशभरका सरकारी तथा संस्थागत विद्यालयहरुमा स्काउट तालिम अनिवार्य गर्नुपर्ने देखिएको छ ।” हरेक घरमा कम्तिमा एक जना ब्यक्ति स्काउट भएमा त्यो घरको माहौल नै परिवर्तन हुने मन्त्री अथकले विश्वास व्यक्त गरे।





लोकपाटी न्यूज

