आफ्नो दुष्प्रचार गरेको भन्दै शशांकप्रति सिंह भए आक्रोशित

prakashman sinha
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरेका छन् । विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सम्भाव्यताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौँ बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सिंहले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।

शशांकप्रति लक्ष्यित गर्दै उनले भने ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म। आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने।’

नेता सिंहले पहिले-पहिले काठमाडौँले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौँ बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतवश हुन थालेको भन्दै आक्रोश पोखे । १२ औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै उनले अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न चेतावनी दिए ।