गठबन्धनलाई ओलीकाे प्रश्न : ‘एमालेसँग एक्लै लड्ने दम छ ?’

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अरु पार्टीलाई चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे चेतावनी दिएका हुन् ।

उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। उनले भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार–चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम, तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’

उनले प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गरे । उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी समेत गरे। उनले आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।

ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको समेत आराेप लगाएका छन्। उनले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको भन्दै उनले भने, ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उनले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।